काठमाडौंभन्दा ललितपुरवासीको प्रतिव्यक्ति आय उच्च.
६ कात्तिक, काठमाडौं । नेपालमा सबैभन्दा धनी व्यक्ति बस्ने गाविसको रुपमा काठमाडौंको इचंगुनारायण गाविस देखिएको छ । यहाँका बासिन्दाले दैनिक सरदर २ सय २५ रुपैयाँ खर्च गर्दछन् । जबकि दैनिक ५२ रुपैयाँ आम्दानी गर्न नसक्ने निरपेक्ष गरिबको संख्या मुलुकभर कूल जनसंख्यामा २३.८ प्रतिशत अर्थात ६० लाख बढी छ ।
इचंगुनारायण गाविसका बासिन्दाको प्रतिव्यक्ति वाषिर्क खर्च ८१ हजार ९ सय ४० रुपैयाँ रहेको छ । एक परिवारमा ४.८८ व्यक्ति रहेको मान्ने हो भने यस गाविसका प्रतिपरिवार वाषिर्क खर्च ३ लाख ९९ हजार ८ सय ६७ रुपैयाँ हुन आउँछ । यस आधारमा एक परिवारको दैनिक खर्च १ हजार ९६ रुपैयाँ हुन्छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुमान प्रतिवेदनमा सबैभन्दा न्यून गरिब रहेको गासिवमा इचंगुनारायण परेको हो । त्यस्तै, सबैभन्दा बढी गरिब अर्थात ७७ प्रतिशत गरिब रहेको गाविसको रुपमा गोरखाको सामागाउँ परेको छ ।
दोस्रो धनी गाविस ललितपुरको धापाखेल बनेको छ । यहाँका वासिन्दाले वाषिर्क औसत ८० हजार २ सय ९३ रुपैयाँ खर्च गर्छन् भने प्रतिपरिवार वाषिर्क खर्च ३ लाख ९१ हजार ८ सय ३० रुपैयाँ रहेको छ । जसलाई प्रतिपरिवार दैनिक खर्चमा हिसाब गर्दा १ हजार ७४ रुपैयाँ हुन आउँछ ।
तेस्रो धनी गाविस काठमाडौंको माहाँकाल हो । यस गाविसका बासिन्दाको वाषिर्क औसत प्रतिव्यक्ति खर्च ८० हजार १ सय ४३ छ । जसअनुसार, वाषिर्क परिवार खर्च ३ लाख ९१ हजार ९८ र दैनिक परिवार खर्च १ हजार ७२ रुपैयाँ हुन आउँछ ।
नेपालमा वषिर्क १९ हजार २ सय ६१ रुपैयाँभन्दा कम आम्दानी गर्नेलाई निरपेक्ष गरिब मानिएको छ । त्यसमध्ये खाद्य गरिबी ११ हजार ९ सय २९ रुपैयाँ र गैर खाद्य गरिबी ७ हजार ३ सय ३२ रुपैयाँमा बाँडिएको छ ।
काठमाडौंको सहरी गरिबी मापनको लागि भने सरकारले ४० हजार ९ सय ३३ रुपैयाँ प्रतिव्यक्ति वाषिर्क आयलाई आधार मानेको छ । त्यसमा खाद्यको लागि १४ हजार ६ सय १० र गैर खाद्यको लागि २६ हजार ३ सय २३ रुपैयाँ भाग लगाइएको छ ।
राजधानीको पनि मुख्य केन्द्र काठमाडौंका बासिन्दाको औसत आम्दानी भने निरपेक्ष गरिबीको रेखाभन्दा अलिकति मात्र माथि देखिएको छ । काठमाडौंको लागि तय भएको मापदण्डलाई आधा मान्ने हो भने काठमाडौंभन्दा ललितपुरवासी धनी देखिएका छन् । यद्यपि काठमाडौंको जीवनशैली बढी महँगो भएको आधारमा सरकारले ४० हजार बढीको मापदण्ड महानगरको हकमा मात्र लागू गरेको हो ।
महानगरपालिकाको प्रतिव्यक्ति वाषिर्क खर्च ४१ हजार ६६ छ भने ललितपुर उपमहानगरको ४३ हजार ५ सय ५० रुपैयाँ रहेको छ । काठमाडौंको लागि लागू मापदण्डमा तुलना गर्दा भक्तपुरको औसत प्रतिव्यक्ति आम्दानी निरपेक्ष गरिबमा देखिन्छ । भक्तपुरवासीको वाषिर्क खर्च ३१ हजार ५३ रुपैयाँ मात्र रहेको प्रतिवेदनले देखाएको छ.
No comments:
Post a Comment