घटस्थापनाका दिन बैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरिएको जलपूर्ण कलशमा नवरात्रीको अन्तिम दिन आज विशेष श्रद्धाभक्तिपूर्वक पूजाआजा गरिन्छ ।
यस्तै घटस्थापनाको दिन आ–आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठहरुमा चढाउने चलन पनि रहेको छ ।
पूराण अनुसार महानवमीका दिन चामुण्डादेवीले असुरको संहार गरेकोले यसलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । काठमाण्डौंको हनुमानढोकास्थित तलेजुभवानीको मन्दिर सर्वसाधारणको दर्शनको लागि वर्षमा एक पटक महानवमीका दिन मात्र खुल्ला गरिन्छ । तलेजु भवानीको मन्दिरमा हजारौं श्रद्धालुहरुले पूजाआजा गर्दछन । आज विहानैदेखि देशभरका देवी भगवतीका मन्दिर एवं शक्तिपीठहरुमा असंख्य श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । विहानैदेखि हनुमानढोका दरवारका साथै नेपाली सेनाका व्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक वाजागाजासहित बलि दिएर कोतपूजा गर्ने चलन छ । आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजा गर्ने चलन रहेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तसती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन रहेको छ । कलशको जल अभिषेक गरी टीका प्रसाद लगाउनाले वर्षभरि नै सुख शान्ति र आरोग्य मिल्छ भन्ने जनविश्वास रहिआएको छ ।
No comments:
Post a Comment