Headeradd

Sunday, October 13, 2013

खमेय जात्रा



नेपाल थुप्रै जनजाती आदिवासीहरुले भरिएको देश हो । त्यसमा नेपाल मण्डलमा बस्ने नेवारहरुको मौलिक संस्कुति जात्रा एउटा महत्वपूर्ण पक्ष हो । नेपाल मण्डलभित्रका कैयौं प्राचिन नेवार वस्तीहरुमा बर्षभरि जसो थुप्रै विशेषताहरुले भरिएको जात्रा मनाउने चलन छ । ग्वल देवपतनको मचातिया जात्रा, बोडे थिमिको जिब्रो छेड्ने जात्रा, हाँडीगाँउको गहना खोज्ने जात्रा, भक्तपुरको खमेय जात्रा जस्ता महत्वले भरिएका जात्राहरु उदाहरणको रुपमा लिन सकिन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीको दिन भक्तपुरमा खमेय दौडाउने जात्रा हुन्छ । त्यसो त भक्तपुरमा बिजया दशमीकै सन्दर्भमा यो बाहेक अन्य थुप्रै जात्राहरु पनि हुन्छ । जस्तै तलेजु थाहा बिज्याकेगु जात्रा, याकाकुमारी जात्रा, ख्वापा खुया यंकेगु, नवरात वानेगु, स्वंगतिकि तानेगु, ख्वापा ब्वयेगु, निकु थुः जात्रा, पायो न्हयाकेगु जस्ता मौलिक सांस्कृतिक क्रियाहरु हुन्छ । त्यसमा खमेयको जात्राले अलग्गै महत्व राख्दछ ।
 
खमेय एउटा त्यस्तो राँगो हो, जुन कालो रंगको भई अन्यन्त मोटो घाटो अनि जिउमा कतै घाउ चोटपटक लागेको हुँदैन । उक्त राँगोको जिउमा अगाडि पछाडी थुप्रै चक्रहरु हुन्छ । भनिन्छ, मानिस होस वा जनावर, एक जिउमा एउटै चक्र हुन्छ । तर एकभन्दा बढी चक्र भएका साह्रै बलिया, चन्चल अनि रौद्र स्वभावका हुन्छ । त्यसमा जिउमा थुप्रै चक्र भएको खमेय साह्रै रौद्र रुपको हुन्छ भन्ने मान्यता छ । रौद्र रुपको राँगो जंगली राँगो अथवा अर्ना हुन ।  जसको टाउको ठुलो अनि सिंगहरु ठुलो भई चुच्चो पर नवदुर्गा धःछे  सिंगले यस्तै संकेत गर्दछ ।
प्रत्येक वर्षको  भलभल अष्टमीको दिन व्रह्मायणीमा मुकुण्डो जलाएपछि जलय बिज्याके अर्थात गुह्य रहन पुग्छ । त्यसपछि श्रावण शुक्ल चतुर्दशी अर्थात गठामोग चह्रेको दिन विभिन्न कारणले महत्वपूर्ण मानिन्छ । यस दिन नवदुर्गा गणभित्र सर्वप्रथम महादेवको उत्पत्ति हुन्छ भन्ने सोहि दिन नवदुर्गा धछेको दक्षिणपूर्वको कोठामा खमेय बाँध्ने किलामा डोरी बाँध्नुपर्छ । र त्यसमध्ये खमेयको छनौटतिर लाग्छ । खमेय छानिसकेपछि सर्वप्रथम नवदुर्गा गणभित्रकी नकिले लसकुस गरी खमेयलाई उक्त किलामा राखेको डोरीबाट बाँध्छ । त्यसपछि प्रत्येक दिन उक्त खमेयलाई जिउ सफा पारी राख्ने, तेल घस्ने, मिठो परिकार जाँड  ख्वाउने जस्ता स्याहार सुसारका काम उजाजुहरुबाट गरिन्छ । एवम रितले यता मोहनी नखा आइसक्छ ।
 
  आश्विन शुक्ल प्रतिपदा देखि नवरात शुरु हुन्छ । क्रमशः ब्ह्मायणी, माहेश्वरी, कौमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी हुँदै नवमीको दिन त्रिपुरासुन्दरी देवीकहाँ मेला लाग्छ । यसै दिन साँझ नवदुर्गा धःछे मा राखिएको खमेयलाई जाँड रक्सी खुवाउने जिउभरी फुस्रो सिन्दुर दल्ने अनि नकीं मार्फत विधिवत पुजा गरि विदा गरिन्छ । यता लामो डोरीले बाँधेको खमेय तान्ने देखि यो दुश्य हेर्नेहरु धःछे अगाडी प्रशस्त देख्न सकिन्छ । खमेय दौडाउने मार्ग गछे सकोलान, दत्तात्रय, तचपाल, सूर्यमढी, च्याम्हसिंह, देगइनागणेश र ब्रह्मायणी पिठको वरपर थुप्रै जात्रालु देख्न सकिन्छ । अगाडी अगाडी डोरी तान्ने पछाडी पछाडी घचेट्नेहरुको भिड नै लाग्छ । सिंग समात्ने, टाउको समात्ने, जिउ समाउने, पुच्छर समाउनेहरुको तछाड मछाड नै हुन्छ । एवम रितले खमेय गछेबाट सकोलान पुगेपछि त्यहाँ राखिएको लामो ढुङ्गामा खमेयको खुट्टा ठोक्छ भन्ने भनाई छ । जहाँ सगै रहेको पाटीमा मानन्धर समुदायले दाफा भजन गाइरहेको हुन्छ । सकोलान तचपाल बाट सूर्यमढी पुगेपछी खमेयको रौनक अर्कै हुन्छ । सूर्यमढीबाट च्याम्हसिंहसम्म ओरालोमा खमेय अनियन्त्रित ढंगले अगाडी बढछ । यता ब्रह्मायणी पिठ जाने सानो पुलबाट नभई खोलाबाट नै लाने चलन छ । यसको अर्थ ब्रह्मायणी पिठमा जान खमेयलाइ शुद्ध पार्न स्नान गर्ने अर्थ लाग्छ । खमेयलाई स्नान गराउने क्रममा एक आपसमा पानी छ्यापाछ्याप गर्ने चलन कम रोचक छैन ।
 
      यता ब्रह्मायणी मसान घाटमा रहको सातवटा ढुङ्गाहरुमध्ये सबैभन्दा अगाडिको ढुङ्गाको किलामा खमेय बाँधिन्छ । यता याछें टोलबाट सम्पूर्ण नवदुर्गा गणको मुकुण्डो ब्रह्मायणी पिठ पुगेपछि मध्यरातमा नवदुर्गासग सम्बन्धित आचाजुले विधिवत रुपमा मांसाहुती यज्ञ गर्छ । जुन यज्ञ गर्न ब्रह्मायणी पिठ अगाडि कसैले हेर्न नपाओस भनी मान्द्रोको घर बनाउछ । अनि तान्त्रिक रुपले सुरक्षित गर्ने हेतुले ब्रह्मायणी पिठ देखी इथुदो (जहाँ सर्वप्रथम नवदुर्गा नाच सिकाइन्छ) सम्म पासुकाले नदेख्ने गरी घेरा बनाउछ भन्ने मान्यता छ । त्यहि भएर यो घेरा भित्र घर खेत भएका वा अन्य बटुवाहरु उक्त रात आवतजावत गर्दैन । मासाहुती यज्ञको क्रममा खमेयको बध अन्तिम घडिको रुप लिन्छ । यो दृश्य सबैको लागि सहज हुँदैन । नवदुर्गाका वनमालगणहरुले सबैलाई पुलपारीसम्म पु¥याउँछ । यता खमेयलाई बध गरी तलेजुका रकमी खड्गीहरु धाजी नं लगाएर तम्तयार भएर बसेको हुन्छ । हातमा रहेको स्याचुपी(सानो तर तिखो चुपी) ले घाँटीमा प्वाल पार्छ । बिस्तारै आधा घाँटी रेटी मुल नशा भेटाउँछ र रगतको खोलो बग्दछ। रगतले ब्रह्मायणी देवीलाई नवदुर्गा गणलाई तृप्त पारेपछी एउटा माटाको भाँडोमा त्या रगत जम्मा पार्छ । जसलाई भैल कोंचा भनिन्छ । र टाउकोलाई छुटाई सकेपछि मांसाहुती यज्ञ अगाडि राखी यज्ञ सम्पन्न गर्दछ । उता टाउको छुट्टीएको जीउमा विस्तारै छाला काढ्छ । जीउबाट सम्पूर्ण छाला हटाइसकेपछी मासु भाग लगाउँछ । नवदुर्गा संग सम्बन्धित रकमीहरुलाई मासु भाग लगाई बाँकी रहेको मासु भोलीपल्ट दर्शनार्थीहरुलाई प्रसादको रुपमा बितरण गर्दछ । यो सुकुटीको रुपमा घरघरमा राखी १५ दिनपछि आउने लक्ष्मीपुजाको दिन अमेमा राख्ने चलन छ । कसै कसैले मकलमा नासाको रुपमा बाल्छ । जे होस खमेयको कारण बिजया दशमी र तिहार बिच एउटा अलिखित सम्बन्ध कायम हुन पुग्छ ।
 
       यहाँनेर खमेय एउटा राँगो हो भन्ने स्पष्ट हुँदाहुँदै नेवार समाजमा लिच्छवी तथा पूर्व मल्लकालमा राँगाको मासु चल्दैनथ्यो र त्यतिबेला, भेडा, हाँस, बोका, कुखुरा, सुँगुर, भंगेरा, तित्रा जस्ता पशुपंक्षीको मात्र मासु चल्थ्यो । तर सिम्रौनगढका राजा हरिसिंह देवले तलेजु भवानी संगसंगै राँगाको मासु पनि भित्र्याएको देखिन्छ । जुन पछिल्ला मल्ल राजाहरुले राँगाकै मासुको लागि खमेयको जात्रा, निकु थुः लगायत २४ बिभिन्न थु (राँगा) काट्ने चलन संस्कुति बन्यो । भक्तपुरमा मोहनी जस्तै बिस्केटमा समेत पोडेहरुले भद्रकालीमा राँगाको बलिदिने, लाक्वलाछेका भैलनायहरुबिच लाकोफेत राँगो काटी मासु बाँडिलिने चलन छ । मासु टुक्रा टुक्रा पारी बाँडिलिने भएर यो ठाँउको नाम नै लाक्वलाछे अर्थात लाकुलाछे भएको छ । यसरी राँगोको मासु यहाँको संस्कृतिमा भित्र्याउन संस्कृतिले समेत सहयोग गरेको स्पष्ट छ ।
 
       खमेय के हो भन्ने इतिहास स्पष्टसंग उल्लेख छैन । बिजयादशमीकै आख्यानलाइ बढावा दिएर हेर्ने हो भने पनि प्रत्येक दिन एक एक देवीहरु उत्पत्ति हुँदै अन्तमा त्रिपुरासुन्दरीले मोहनी लगाएर महिषसुर माथि बध गरेको छ । जुन महिषसुरको मूल रुप खमेय हो भन्ने धारणा छ । तसर्थ महिषसुर अर्थात महिष+असुर नै खमेय हो भन्ने धारणा छ । जहाँ महिष भन्नाले राँगो नै जनिन्छ । राँगोमा रहेको (दानवी) आसुरी प्रवृत्ति माथिको बिजय बिजया दशमी वा मोहनी हुन पुगेको छ । तापनि खमेयको वास्तविक स्वरुपबारे एकपटक इतिहासका पाना पल्टाउनु पर्छ । यसै क्रममा मल्लकालमा टिपिएको बर्षकृति नामक थ्या सफुको एक ठाँउमा नवमी विधान गर्ने क्रममा यसो टिपिएको छ । “नवमी याय ।। खण्डमेस स्याययात खण्डमेस पुजा मेस स्याय घुनङाव” भनी खमेयलाई स्पष्टसंग खण्डमेस भनिएको । यहाँ उल्लेख भएको खण्डमेसले दुइटा अर्थ दिन्छ । पहिलो त खण्डले विभक्त अर्थ दिन्छ । खमेय कस्तो छान्ने भन्ने सन्दर्भमा एउटा आधार के मानिन्छ भने खमेयको जिउको अगाडिको आधाभाग  अगाडि तर्फ र पछाडिको आधाभाग पछाडितर्फ फर्केको हुन्छ । यसरी जिउमा रहेको रौं दुइ खण्डमा बिभाजित भएर खण्डमेस भनेको एउटा आधार छ भने अर्को अहिले जुन खमेयको जात्रा गछे नवदुर्गा द्यछेबाट हुँदै आएको छ । परापूर्वकालमा यो ठाँउबाट नभई वर्तमान वालाखुनेर रहेको खचुँकबाट भएको हुन सक्छ । लिच्छवी राजा आनन्ददेवले साततल्ले त्रिपुर दरबार सहित राजधानी बसाले यता उनका भाईअमृतदेवले खण्डचोक पछि थपेको गोपालराज बशावलिमा अप्रभंष रुपमा खचुँक बोलिन पुग्यो । यहि खण्डचोकबाट जात्रा गरिने राँगो नै खण्डमेस हुन पुग्यो । पछि नवदुर्गा भवानीको द्यछे वर्तमान स्थानमा बनाएपछि यो जात्रा द्यछेबाट शुरु भएको बढी अनुमान लायकको छ ।

No comments: