Headeradd

Saturday, October 12, 2013

दशैंको आठौं दिन महागौरी देवीको पुजा गरिन्छ, देशभर महाअष्टमीको रौनक


काठमाडौं, असोज २६ –बडादसैंको आठौँ दिन आज घरघरमा शक्तिस्वरुपा देवी दुर्गाभवानीको पूजाअर्चना गरी महाअष्टमी पर्व मनाइँदै छ ।
यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजा, दुर्गा सप्तशती पाठ तथा पुटित भइरहेको छ ।
उपत्यकाभित्रका शक्तिपीठहरु दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, नरदेवी, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरहरुमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहान सबेरैदेखि भीड लागेको छ ।
आज दसैँघर तथा जमराकोठामा शक्तिस्वरुपा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रुपमा नौ थुप्रा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित दुर्गापूजा गर्नुका साथै कलपुर्जा, खड्ग पूजा, हातहतियार र सवारीसाधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबलि नचढाउनेले जमराकोठामा घिरौँला, कुभिन्डो, मूला आदिको बलि दिई दुर्गाभवानीलाई दही चिउरा, खिर तथा नरिवल चढाई पूजापाठ गर्दछन् ।
नेपाललगायत भारत, भुटान, बङगलादेश, वर्मामा बसेको नेपालीमूलीहरुले पनि बडादसैँ मनाउने प्रचलन रहेको छ । आजका दिन कलकत्ताको कालीको मन्दिर तथा आसामको कामरुकामाक्षमा पनि तान्त्रिक विधिअनुसार पूजा गर्नेहरुले बलि चढाउने परम्परा रहेको संस्कृतीविद् सत्यमोहन जोसीले जानकारी दिए ।
संस्कृतीविद् जोसीले असत्यमाथि सत्यको विजय तथा धामिर्क सहिष्णुता र समन्वय बनाइराख्न दुर्गापूजाको महत्व रहेको उल्लेख गरे ।


No comments: