Headeradd

Thursday, August 29, 2013

आर्थिक अभावका कारण नवदुर्गाको मुकुन्डो बनाउने पेसा संकटमा


आर्थिक अभाव भएपछि नवदुर्गा नाचका लागि हरेक वर्ष निर्माण गरिने मुकुण्डो बनाउने पेसा संकटमा परेको छ ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको सहर भनेर चिनिने भक्तपुरमा वर्षौदेखि मनाईदै आएका तान्त्रिक नाचको रुपमा लिईने भक्तपुरको प्रसिद्ध एवं ऐतिहासिक नाच नवदुर्गाको मुकुन्डो बनाउने पेसा अहिले सङ्कटमा परेको हो । नेपाल मण्डलका राजा आनन्ददेवले नवदुर्गा भवानी मार्फत नगरको बस्ती एवं बासिन्दाको सुरक्षाका लागि नवदुर्गा नाच नाच्ने प्रचलन चलाएको शिलालेखमा उल्लेख भएको भक्तपुरका बासिन्दा बताउँछन् ।हरेकवर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा गरेपछि सुरु भई ११ महिनासम्म चल्ने प्रसिद्ध नवदर्गा नाचको मुकुण्डो बनाउने कार्यभने हरेकवर्ष घण्टाकर्णका दिन देखि सुरु गर्ने गरिन्छ । पेशाको संरक्षण नभएमा पछिल्लो पुस्तामा यो पेशा पूर्ण रुपमा लोप हुने लामो समयदेखि नवदुर्गाको मुकुण्डो बनाउँदै आएका पूर्ण चित्रकारले बताउनुभयो ।

ब्रम्हकुण्डलको खोलाको किनारमा पाइने कालो माटोबाट मात्रै नवदर्गाको मुकुन्डो बनाउने परम्परा रहेको छ भने मुकुण्डो निर्माणमा कालो माटो धुलो बनाएर कालो मास एवं मैदाको माड कपाससहित बिभिन्न शुद्ध सामाग्रीहरु मुछेर बलियो रुपमा मुकुन्डो तयार गरिन्छ ।नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्ब, बह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्ब र श्वेत भैरबी गरि १३ देवगणको मुकुन्डो बनाएर नाच नाच्ने गरिन्छ ।भक्तपुरमा मात्रै २१ ठाउएमा प्रर्दशन गरिने नवदुर्गा नाच यस बाहेक जयवागेश्वरी, साँखु, काभ्रेको बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खक लगायतका बिभिन्न स्थानमा प्रर्दशन गर्ने गरिन्छ ।मुकुन्डो तयार गर्न झण्डै डेढ लाख रुपैया लाग्नुका साथै नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको पूजा गर्न आउने बाजाटोलीलाई समेत भोजन खुवाउनु पर्ने भएकाले खर्च बढ्दै जाने गर्दछ । हरेक वर्ष बनाएको मुकुण्डो नाचसम्पन्नसंगै सेलाउने परम्परा रहेकाले हरेक वर्ष नयाँ मुकुण्डो बनाउनु पर्ने परम्परा रहेको छ । यसको लागि खर्च धेरै लाग्ने भएको तर आवश्यक सहयोग काँहीबाट पनि नआउने भएपछि यो पेशा थप संकटमा परेको हो ।

धार्मिक विश्वासका आधारमा आफ्नै खर्चबाट नवदुर्गाको मुकुण्डो बनाउँदै आएका चित्रकारले पछिका पुस्ता भने मुकुण्डो बिनाउन तयार नभएपछि यो पेशा संकटमा परको हो । नवदुर्गाको मुकुन्डो राख्नाका लागि देवगृह बनाउने भक्तपुर नगरपालिकाले करोडाँै खर्च गरेपनि मुकुण्डो बनाउन चासो नदिएको गुनासो स्थानियको छ । भक्तपुर नगरपालिकाले मुकुण्डो बनाउन आर्थिक सहयोगका लागि कोष स्थापनाका लागि माग गरेपनि चासो नदिएको स्थानियको गुनासो छ ।गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले भक्तपुरको प्रसिद्ध तान्त्रिक नवदुर्गा नाचलाई जीवन्तता दिन कार्यालयले अक्षयकोष स्थापनाका लागि पहल गरेको बताउनुभयो ।आर्थिक अभावले समस्या आएको स्वीकार्दै उहाँले मुकुण्डो बनाउनका लागि रकम माग गरेर विभागमा पठाएको र जिल्ला प्रशासन कार्यालय मार्फत नाच देखाईने जिल्लाहरुमा पनि आर्थिक सहयोग गरिदिन आग्रह गरेको जानकारी दिनुभयो

No comments: