नौ गेडागुडीका नवरस — क्वाति
गेडागुडी एकदम सुकेका अन्न बीज । अन्नका आकार गेडा र गुडीमा मूर्त छ । जसको आकार हुन्छ मूर्तिन्छ त्यो । जसको आकार हुन्न त्यो अमूर्त रहन्छ । जसको हुन्छ आकार मूर्त बन्छ । गेडामूर्ति यसको रुप आकार बन्छ । रस अन्तर निहित छ । रसलाई रसाउन रस तत्व चाहिन्छ । पानी यहाँ रसतत्व बन्छ । रस रसिलो गुण । रसिलोपन अन्तर निहित गुण । रसमा रसिलोपन रहेरै यसले अरूमा निहित रस निकाल्न सक्षम हुन्छ । नवरसले हामीभित्र अदृश्य रहेका वा बनेका रसलाई प्लावित पार्ने काम गर्छ । रसले भिजाउँछ । हामी प्लावित रहौँ । रस प्लावन जीवन बन्छ । जीवन जिउन रस प्लावित रहनु आवश्यक छ । यही रस प्लावन संस्कार चाड बन्छ । त्यही चाड जीवन संस्कृति बन्छ । त्यही संस्कृति पर्व अनि चाड भइदिन्छ । चाड—पर्व पनि संस्कृतिको एउटा रुप हो । जीवन संस्कृति हो—संस्कार मण्डित, संस्कार रञ्जित—रमरम रमाउने मेरो, हाम्रै हाम्रो जीवन । नवरसभित्रका रस प्लावन मौसमी क्वातिमा ! गेडागुडीका नवरस—क्वाति हो ।
नम्र निवेदन मेरो ! “क्वाति” नेपालभाषाका नेवारी शब्द । भाषिक संस्कृति अनुरुप क्वा=तातो । क्वा=परिकार पनि । ति=रस । तातो, परिकारबाट बनाइएको, निकालिएको रस÷झोल । रस सुस्क अवस्थामा पनि रहन सक्छ । यो अवधारणा यथार्थ हो । यो विज्ञान हो । यो दर्शन पनि । यसको आँखै देखी—साक्षी यही गेडागुडी सुकेका । यिनभित्र प्लावित रसलाई पानीमा भिजाएर हामी भित्री रसमा रसाई हामी दिन्छौ र निकाल्छौँ भित्री रस । बेसकन पकाउँदै भित्री आँटैसम्म लेसिएका रस निकाल्नका लागि । पानीले गेडागुडी भित्र पसेका रस निकाल्न गुहार गर्छ । मानौ भित्री रस निकाल्न पानी नै चाहिन्छ, भित्र भित्री तहसम्म लुकेछिपेका रस भिजाउन र तान्न बाहिर । पानी रस हो । रसैले रसलाई रसिलो पाराले भित्री तहसम्मै भिजेर भिजाउँछ । रसका लागि रसै रसदूत बन्छ । चिनेका साथ—संगिनीले चिनजानका साथी — संगिनीलाई सम्झाई बुझाई आफुतिर फर्काए झैँ वा पानी रसले रसाएर नवरस झोल क्वाति पारे जस्ते । नभनी हुन्न भन्नै पर्छ क्वाति नै हो “क्वाँटी” होइन । संस्कार र संस्कृति तत्सम रहनु पर्छ; तत्भब् होइन । आकृति आकृति नै रहोस् । विकृति नबनून् ।
क्वातिलाई नवरस झोल भनेँछु , यसमा नौ किसिमका गेडागुडी मिसाइएको हुन्छ । १) गेडो मुङ् ः२ भाग २) मास ः उस्तै १ भाग ३) भटमास ः १/६ भाग ४) १/४ सानो केराउ ः १/४ भाग ५) मस्याङ् ः १/४ भाग ६) चना ः १/४ भाग ७) सिमी ः १/४ भाग ८) बोडी ः १/४ भाग ९) बकुलो ः १/६ भाग । नौ गेडागुडीको संमिश्रण्बाट तयार परिने क्वाति रस बन्छ यसरी । अलि अलि ल्हसुन । थोरैथोरै अदुवा । मात्राछि बेसार । अनि नून स्वाद अनुसार, जिब्रो अनुसार । स्वाद त जिबै्रले लिन्छ । अन्तमा ज्वानू झानिन्यो , झानियो । बस, नवरस—क्वाति तयार । मीठो बासना र स्वाद खातिर यतियति शुद्ध घिउ थपिन्छ । अहा ! क्या मगमग सुवास महकिन्छ ! चुस्स चुस्कि लगाऔँ ! कति मीठो सुवासिलो स्वाद—हाय ! नवरस क्वाति ! जिब्रो रसायो होला ! मुखभरी पानी पानी । छिटो भनेको के ? बुझ्नु भएन र? स्वाद लिइ हालूँ लाग्न थाल्यो । फुवा (द्ययध)ि भरी पाउँन क्वाति, लिओँ क्वाति !! चुस्स चुस्कि ! क्या स्वादिलो क्वाति । रसमय क्वाति !
किन र यतिखेर ? सावन भदौरे याममा यो नवरस क्वाति ? किन रे हँ? ए, अस्ति मात्रै रोपाँई सकिएछ । झरीमा रुझिरुझी, खेतमा निहुरि निहुरी रोपाईँ गरियो । जिउभित्र अनपेक्षित रुझान भरिएछ । हिलो माटोमा छ्याप्ल्याङ् छिप्लिङ् टेकियो भरदिन, दिनभरीभरी । घाम र बर्सातले सेकियो सेकान । भित्री आँट रुझ्नु रुझिएको छ । थाक्नु थाकेको थकान छ । त्यसलाई पारलाउनु नि त छ । भित्री चिस्यान निकाल्न चाहिन्छ — नवरस क्वाति । भदौरे मौसममा क्वाति यसैले । कारक र कारण भेटिन्छ यहाँ । अलि अलि सोच । यतियति खोज । नवरस क्वाति स्वाद क्या स्वादिलो मोज । यहिँ निर पहिल्याइन्छ संस्कृतिको पोज । नौ गेडागुडीका रस नवरस क्वाति शरीरभित्रका रुझाई र रुझान पसिनामा चुहाएर बाहिर निकालिदिने औषधीमूलो ठहर्छ ।
क्वातिका संसाधन स्थानिय स्रोत । नवै गेडागुडी सबै स्थानीय साधन स्रोत । किसानी पौरख ठहर्छ—कृषि उत्पाद गेडागुडीहरू ! ल्हसुन, अदुवा अनि घिउ, ज्वानु । क्या मीठो परिचालन देशभित्रकै यी संसधन ! कतै निहुरिन नपर्ने आत्मनिर्भरताका अडान । मेरो नवरस क्वाति संस्कृति संस्कार ! यसले स्थानीय साधन परिचालन गर्न सिकाउँछ । स्थानीय साधन परिचालन गर्न लगाउँछ । स्थानीय साधन परिचालन गरेर आत्मनिर्भर समाज निर्माण कार्य, मजबूत पार्ने मौन मन्त्र सुनाउँछ — क्वाति । बोली बिबनाका मन्त्र सुन्न सक्नु पर्छ हामीले क्वातिबाट । नवरसका क्वाति कृषिवालाका गाथा गाउँछ । नवरस क्वाति मात्र चाड पर्वको खानपिनको सराजाम मात्र नबनी आत्म निर्भर समाज, र नेपालीका नेपाल रच्ने मौन मन्त्रकै मन्त्रणा भर्छ । नवरसका क्वातिलाई अब जीवन संस्कार, समाज संस्कार अनि राष्ट्रिय संस्कार मूलक पेय—पदार्थ बनाउनु पो पर्दो हो । यसलाई खाद्य परिकारका कीर्तिमान नवरस झोल मान्नु पर्ला । अनि विद्यालय शिक्षण सामग्री बनाएर पठन पाठन गर्नु गराउनु पर्दो हो । क्वाति विशुद्ध नेपाली भोजन परिकार बन्नेछ ।
नवरस दिने नौ गेडागुडीको मिश्रणमा अनुपात मिल्नुपर्छ । अनुपात सन्तुलित नभए विकार पैडा गर्छ । धेरै मात्रामा सेवन गरे पेट बिग्रन्छ । पखाला लाग्छ । धेरै तातो सेवन गरे मुखको टालुका स्थान खुइलिन्छ । चीसो पिइए अरू खराबीले छुन्छ जिउलाई । मनतातो भन्दा अलि तातो खाए ताकत दिन्छ । स्वास्थ्य स्वस्थ बन्छ । सन्तुलित भोजन सन्तुलित स्वस्थ स्वास्थ ।
क्वाति मौसमी रसपरिकार (Soup) अवश्यै बनेको छ । क्वाति सेवन समय यस्तो छ — मौसमी संक्रमण । प्रखर गर्मी र बर्षा याम चिस्यान तर्फ कोल्टिने मौसम । एक स्थितिबाट अर्को स्थितिमा टेक्ने समय । मौसम संक्रमण काल बन्छ । सूर्यलाई पृथ्वीले उत्तरायनबाट दक्षिणायन पार्ने ऋतु परिवर्तनको मौसमी याम । प्रकृतिमै स्वभावतः शाश्वत परिवर्तन आउने बेला शारीरिक अन्तरालमा बाहिरी चिसोपन÷चिस्यान घुस्न नदिन क्वाति जस्तो नौ गेडागुडीका नवरस सेवनले चिस्यान आक्रमण निरोधक पेय पदार्थ सावित गर्छ । त्यसैले, आयुर्बेद भन्छ ः प्राकृतिक प्रभावबाट उत्पन्न हुने बिकारका समाधान प्रकृति प्रदत्त प्राकृतिक संसाधनकै सन्तुलित उपयोग र उपभोग कसरी नबनून् ?
तथापि क्वाति सेवन गरेपछि केही परहेज नगरी हुन्न । क्वातिसित खाइने कुन परिकार हुन् त? पक्कै पनि रुची र स्वास्थ्य अनुकूल गरेर सुख्खा गँहुको आँटा÷पीठोबाट बनेको सुख्खा रोटी, परौठा, आलु—काँक्रो, मटर, भेडेँ खुर्सानी, तीलका पीठो मोलेर बनाइएको मेठी झाँकेको अचार, जुजु धौ, कवाव, आदि परिकार हुन् यिनका । भक्तपुरेहरूलाई यसले ‘घिन्ताङ्घिसी’ नाच्न बल दिन्छ । ताकत बढाउँछ । जेहोस् क्वाति सेवन गर्दा तुरुन्तै चीसो खाइ नहाल्नु । स्वास्थ्यको लागि परहेज बन्छ चिसो गर्नु । तत्काल चीसो सेवन गरे पखालाले सखाप पार्छ । होसियार ……!
No comments:
Post a Comment