काठमाडौं, माघ १ - नेपालीहरुले तरुल, तीलेको लड्डु र सागपात जस्ता पोषिलो खाद्य पदार्थ बुधवार माघे संक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य पदार्थहरुको साथै सम्येबजी (च्यौरा, पोलेको मासु, साधेको कालो भट्मास, अदुवा र रक्सी र वा जाँड) र माछाको सिद्रा खाने गरिन्छ ।
गाउँघरमा भने घिउ, चाकु, अघिल्लो दिनमा उसिनेको तरुल, मासको फुलौराको साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाएको खिचडी खाने चलन छ । मिथिला क्षेत्रतिरमा भने बिहान देवीदेवताको पूजा अर्चना गरिसकेपछि तील, चामल र सखर मिलाएर आमाबाबुले आफ्रनी छोराछोरीलाई प्रसादको रुपमा दिने र छोराछोरीहरुले पनि ती बस्तुहरु ग्रहण गरी आमाबाबुको परन्तुसम्म सेवागरी पाल्ने बाचा गर्दै खाने चलन भएको पत्रकार कुमार बिबेकादन्द मिश्रले बताए । तराई भेकमा थारु समुदायमा यस पर्वलाई नयां वर्ष प्रारम्भको भएको दिनको रुपमा मनाइने गर्दछन् । यस दिनलाई उनीहरु कमैयाबाट मुक्त हुने स्वतन्त्र दिवशको रुपमा पनि मनाउने गर्दछन् ।
विशेष गरेर घिउ र चाकु खाने भएकोले नेपालभाषामा 'घिउ चाकु संल्हु' भनिने यस पर्वमा उपत्यकाका तीन शहरमा खिचडीको साथै एक प्रकारको लामो खालको पालुङ्ग (यलय् पलः) खाने चलन छ । यस पर्वमा तिलको अत्याधिक प्रयोग गरिने र दान गर्ने भएकोले यस पर्वलाई 'हामो संल्हु (तील संक्रान्ति)' पनि भन्ने गरिन्छ ।
यस दिनदेखि सूर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकोले 'मकर संक्रान्ति' भनिने गर्दछन् । देवताहरुका लागि उत्तरायणी दिन र दक्षिणायणी रात हुने भएकाले सूर्य उत्तरायणी हुने समयमा मानिसहरुले मरण यसै समयमा हुने इच्छा गर्दछन् । स्वेच्छा मरणको वरदान पाएका गंगापुत्र भीष्म महाभारतको युद्धमा घाइते भई मुत्युको शैयामा रहन्दा मरणको लागि सूर्य उत्तरायणीलाई पर्खेको महाभारतमा वर्णन छ ।
यस पर्वमा जीउभरि तेल घसेर दिनभरि घाम ताप्ने चलन छ र परिवारका मुली वा आमाले आफ्नी छोराछोरीहरुलाई टालुमा तेल हाली दिने गरिन्छ ।
यस पर्वमा नदिहरुका दोभान परेका देउघाट, शंखमूल, टेकुदोभान, पनौती दोलालघाट आदिजस्ता पवित्र तिर्थस्थलमा स्नान गर्ने गरिन्छ । यस दिन भक्तपुरको तौमढी टोलमा रहेको तीलमाधवनारायणको विशेष पूजा अर्चना गरिन्छ र त्यहाँ नवदुर्गा गणको नाच पनि यस दिनमा सुजमारी टोलबाट आरम्भ गरिन्छ । यसै दिनमा भक्तपुरका पाँच दीपंकरको जात्रा गरी सम्यक दिन, पञ्चदान पनि गर्ने गरिन्छ ।
No comments:
Post a Comment