Headeradd

Saturday, October 19, 2013

दीपङ्खा यात्रा सम्पन्न


धार्मिक, सामाजिक तथा सांस्कृतिक सहिष्णुताको प्रतीकका रूपमा रहेको 'दीपङ्खा यात्रा' आज सम्पन्न भएको छ। 
 
ललितपुरको हीरण्यवर्ण महाविहार, इतिलन्हे नागबहालबाट आज बिहान करिब २:४५ देखि सुरु भएको यात्रा ललितपुरको खोकना, बुङ्मती, चोभार, पश्चिम स्वयम्भू महाचैत्य, म्हेपी, हल्चोक र पूर्वमा बौद्ध गुह्येश्वरी, पशुपति, कोटेश्वर हुँदै पुनः ललितपुरको बालकुमारी, वटुकभैरव, महालक्ष्मीस्थानमा पुगी सम्पन्न भएको थियो।
 
करिब ६६.५ किलोमिटर लामो दूरी हिँडेरै पूरा गर्ने 'दीपङ्खा यात्रा'मा करिब दुई लाखभन्दा बढी भक्तजन सहभागी भएको आयोजक समितिको अनुमान रहेको छ। 
 
हिन्दू तथा बौद्ध धर्मप्रति आस्था राख्ने स्वतःस्फूर्त रूपमा सहभागी भएका भक्तजनमध्ये करिब ९० प्रतिशतभन्दा बढी नेवार समुदायका रहेको दीपङ्खा व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर शाक्यको भनाइ थियो।
 
आज बिहान करिब २ बजे बौद्धबाट सुरु भएको दिपङ्खा यात्रा बागमती, गुह्येश्वरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथलोहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटिविहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछेँ (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (बटुक भैरव) हुँदै महालक्ष्मीस्थान लगनखेलसम्म पुगेरसमापन भएको थियो। 
 
यात्रामा सहभागी ललितपुर निवासी ३६ वर्षीया रेश्मा महर्जनले पुण्य कमाउनका लागि आफू यात्रामा सहभागी भएको र एक पाइला हिँड्दा एक तोला सुन दान गरेबराबरको पूण्य प्राप्त हुने आमाले सुनाइराखेको उक्ति चरितार्थ हुने विश्वास आफूमा रहेको बताए।
 
विसं २०२४, २०६२ र अहिलेको यात्रामा समेत सहभागी हुनुभएका चोभार निवासी ६८ वर्षीय चर्तुमान महर्जनले धर्म कमाउनकै लागि लामो यात्रामा हिँडेको र जतिसुकै लामो यात्रा गरे पनि आफूलाई केही गाह्रो महसुस नभएको बताए।
 
यात्राको सुरुमा करिब एक लाख ५० हजार सहभागी हुने अनुमान गरिए पनि त्योभन्दा बढी सहभागी भएको व्यवस्थापन समितिले जनाएको छ। रासस

- See more at: http://setopati.com/samaj/4728/#sthash.Vb516QKS.dpuf

No comments: