Headeradd

Thursday, August 29, 2013

चारदिन चाररात निरन्तर नाचीरह्यो थिमि


आठदिनसम्म मनाईने साँस्कृतिक पर्व गाईजात्रामा भक्तपुरका बासिन्दा भुलेपनि नजिकै रहेको थिमि सहरलार्ई भने गाईजात्राको रौनकले पटक्कै छोएन । साँस्कृतिक सहर कै रुपमा चिनिने नजिकैको थिमि सहर भित्रका देशहरु भने गाईजात्राको चासो छोडेर दिनरात बिभिन्न देवीदेवताका स्वरुपमा निरन्तर नाचिरह्यो ।गाईजात्राको भोलीपल्ट एकैसाथ थिमिको बोडे देश, नगदेश, चपाचो लगायतका बिभिन्न स्थानमा फरक फरक देवीदेवताका नाचले थिमि भने दिनरात जागि नै रहयो । रातीको कुनै प्रवाह नै नगरी केटाकेटी देखि उमेर पाकेका बुढाबुढीहरु समेत देवीदेवताका प्रतिकको रुपमा रहेका नाचहरु हेर्दै रातभर जागिरहेका थिए । गाईजात्राको भोली पल्ट मध्यरातीबाट बोडेमा हरेक वर्ष प्रर्दशन गरिदै आएको नील बाराही नाचको प्रर्दशन सुरु भयो । त्यही समयमा नगदेशमा लोपोन्मुख अबस्थामा पुगिसकेको भैल ः अर्थात भैरब नाच नौ वर्ष पछि यसवर्ष सुरु भयो भने यहि समयमा अर्को लोप हुन लागेको महाकाली नाच १० वर्षपछि यसवर्ष थिमि कै दुईपोखरी डबलीबाट सुरु भयो ।न दिन न रात, न घाम न पानी, न भोक न तिर्खा, न थकान न फुर्सद दैनिक आठ देखि १२ घण्टासम्म यी नाचहरु थिमिमा नाचिरह्यो, यहाँका बासिन्दा भने लोपोन्मुख हुन लागेको प्रसिद्ध ऐतिहासिक एवं धार्मिक नाचहरुको जगेर्ना गर्न जागिरहे । महिलाका हातहातमा फूलपाती, पुजाका सामान एवं बिभिन्न बस्तुहरु देवताका रुपमा नाचिएका देवगणहरुलाई चढाईरहेका थिए । रातभर बिभिन्न परम्परागत बाजाहरु नाच पुग्ने टोलमा बजिरहेका थिए, स्थानियमा उत्तिकै उत्साह थपिएको थियो, लोपोन्मुख नाच जगेर्ना भएकोमा सबै खुसी देखिन्थे ।बोडेको निल बाराही नाच हेर्न रातभरी जागा रहेकी रामप्यारी श्रेष्ठ हरेक वर्ष नीलबारही नाच हेरेपनि भगवाण नाचमा प्रकट हुने भएकाले दर्शन गर्न कै लागि पुजा सामान लिएर जागा बसेको बताउनु भयो । यता रातीदेखि बिहानसम्म नाचिने भैरब नाच हेर्दै रहेको नगदेशका प्रदिप श्रेष्ठले लापोन्मुख अबस्थामा पुगेको नाच यसवर्ष प्रर्दशनमा आएकाले हेर्न चारै रात नसुतेको बताउनु हुन्छ । रातभरी नै जागा भएर महाकाली नाच हेरेका चपाचोका रामशरण प्रजापति पनि सपरिवार महाकाली नाचमा रमाईरहेका थिए । प्रजापति यो नाचमा भगवाणको बास हुने भएकाले रातभरी नाच हेरेर बस्ने गरेको बताउनु हुन्छ । जिब्रो छेड्ने जात्रा पछिको प्रसिद्ध जात्राको रुपमा बोडेमा मनाइने नील बाराही नाच बोडेको नारायणथान लाछीबाट सुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा आज बिहानबाट समापन भएको छ । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच राती र दिउँसो देखाउने परम्परा रहेको छ ।
 
नील बाराही देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगणको समूह रहेको हुन्छ । देवता १९ जना, गुरु ६ जना, १९ जना देवताका सहयोगी, बाजा बजाउने ९ जना गरी यो नाचमा ५० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील रहने गर्दछन् । दैनिक १० देखि १४ घन्टासम्म परम्परागत नियममा बा“धिएर बोडेमा मनाइने नीलवाराही नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नुहने र जुत्तासमेत लगाउन नहुने नियम छ । गुठी नाइके प्रेमचन्द्र अदुवाले भन्नुभयो—‘नाचको नियम कडा छ, देवगणले मुकुण्डो लायर घण्टौसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाईदैन, बस्नैपरे पनि ज्वकालुको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।’ नाचको अगाडि र पछाडि बाल्ने चिराग पनि निभ्नु हुदैन भन्ने मान्यता रहेको छ । बत्ती निभ्यो भने देवता हुनेको पेट दुख्ने तथा बान्ता आउ“छ भन्ने जनविश्वास अझै रहेको छ । जात्रामा काटमार समेत गर्नु हुदैन । ‘देवगणहरू नियमभन्दा बाहिर जानु हु“दैन,’—नाचका गुरु कान्छा बालाले भन्नुभयो,—‘नियम कडाइका साथ पालना गर्नुपर्छ, पालना नभए उसैलाई असर गर्छ ।’ परम्परागत नियमभन्दा बाहिर गए बोडेवासीलाई अनिष्ट हुने जनविश्वास अझै रहेकोछ । 
 
यता नगदेशको लोपोन्मुख अवस्थामा रहेको भैल : अर्थात भैरव नाच विगत नौ  वर्ष पछि पुन : संचालनमा आएको छ । नाचका भैरब गुरु कृष्णभक्त घजु लोप भईसकेको नाचलाई जिवन्त दिन यसवर्ष नाच संचालन गरेको बताउनु हुन्छ । 
भैरवनाचमा भैरव दुई, दाग्या अर्थात भैरबी दुई र ज्यापुङ्गचा अर्थात बेताल एक जना गरि पाँचजना देवगणले नाचेका छन् । चार दिनसम्म निरन्तर रूपमा राति निकालिने उक्त नाच नगदेशको लाछीटोल, बहाननी, लेहचा, कुमालाछी, सिचुटोल, गार्चा लगायत बिभिन्न टोलमा रातभरी नाच प्रदर्शन गरेर दाछी टोलमा पुगेर सम्पन्न भएको भैरब गुरु घजुले बताउनुभयो । भगवाणको साधना गर्दा ईच्छुक स्थानिय युवाहरुलाई कम्पन दिएर भगवाणको आगमन भएपछि मात्र नाच संचालन गर्न मिल्ने अन्यथा नमिल्ने गुरु घजुले बताउनुभयो । 
 
यो नाचमा करिब ११ लाख रुपैया खर्च हुने भएपनि कुनै निकायले पनि अहिलेसम्म सहयोग नगरेकोले प्रत्येक घरधुरीले पैसा संकलन गरेर यसवर्ष नाच देखाएको बताउँनुभयो । गएरात भरी नै नाच देखाएर टोलटोल गएपछि स्थायिले सकेको पुजा सामान सहित पुजा दिने परम्पराका कारण नाच बिहानसम्म टोलटोल मै रहने गर्दछ । त्यसैगरि १० वर्ष पछि संचालनमा आएको महाकाली नाचका गएरातीबाट सम्पन्न भएको छ । रातभरी नै महाकालीका प्रतिकका रुपमा एक दर्जन देवी देवताका प्रतिकका रुपमा देवगणहरुले नाचिका थिए । दुई पोखरी, बालकुमारी, चपाचो लगायतका बिभिन्न क्षेत्रमा महाकाली नाचेको थियो । महाकाली नाचका गुरु श्रीगोपाल प्रजापतिले १० वर्ष पछि संचालन मा आएको यो नाच राती मात्र देखाईने भएको आज बिहान ३ बजेबाट नाच समापन भएको बताउनुभयो । कला, संस्कृतिको धनी भएपनि यहाँका प्रसिद्ध नाचहरुको जगेर्ना गर्न आवश्यक पर्ने आर्थिक अभाव कै कारण नाचहरु संकटमा परेको नाच संचालकहरु बताउँछन् । सरकारले खर्चको ब्यबस्था गरिदिए यस्ता प्रसिद्ध नाचहरु हरेक वर्ष संचालन गर्न सकिने उनीहरुको भनाई छ । 
 
 
-

No comments: