Headeradd

Thursday, July 25, 2013

शक्ति समूहलाई रोमन म्यागेसेसे उपाधि.

हिलारी क्लिन्टनका  साथ चरिमाया तमाङ्ग।

 भारतको विभिन्न स्थानमा बेचिएका चेलीलाइ उद्दार गर्ने नेपाली महिलाहरुको संस्था शक्ति समूहलाई सन् २०१३ को रोमन म्यागसेसे अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ । मुम्बईमा बेचिएर उद्धार गरिएकी नेपाली चेली सुनिता दनुवारलगायत १५ नेपाली महिलाले सुरु गरेको शक्ति समूहले स्थापनाको १७ वर्षमा यस्तो पुरस्कार पाएको हो ।
'यो अवार्डले हाम्रो संस्थालाइ थप जिम्मेवार बनाएको छ,' दनुवारले बुधबार साँझ धुम्बाराहीस्थित संस्थामा भनिन्, 'हामी जस्ता बेचिएर फर्किएका चेलीले अरु चेलीलाइ बचाउने संस्थालाइ यति ठूलो अवार्ड दिनु भनेको हाम्रो लागि ठूलो उपलब्धि भएको छ । 
अवार्ड आउँदो अगस्ट ३१ तारिखमा फिलिपिन्सको सांस्कृतिक केन्द्रमा दिइने छ । 
‘यो अवार्डले बेचिएर फर्किएका मजस्ता थुप्रै दिदीबहिनीलाई आत्मसम्मानपूर्वक बाँच्नलाई प्रेरणा मिलेको छ,’ दनुवारले सेतोपाटीसँग भनिन् । सुनितालगायत संस्था संचालकले बुधबार दिउँसो १ बजे इमेलमार्फत आफ्नो संस्था पुरस्कृत भएको थाहा पाएका हुन् । 
रोमन म्यागेसेसे अवार्डको वेबसाइटमा उल्लेख भएअनुसार शक्ति समूहका संस्थापक र सदस्यहरू ‘महिला बेचबिखनका पीडितहरूको सेवामा जीवन समर्पित गरेको तथा महिला बेचबिखनको भयानकतालाई जरैदेखि नियन्त्रण गर्न लागिपरेका र मावनीय आत्मसम्मान सबै पीडित महिला र बालबालिकाको नैसर्गिक अधिकार हो भन्ने उनीहरूको चम्किलो अभियान नेपालको अत्यन्तै दयनीय सामाजिक मुद्दा’का लागि चिनिएका छन् ।
'हामी पीडित महिलाहरुले अन्य पीडितलाइ उद्दार गर्ने लक्ष्य लिएर संस्था खोल्न खोजे पनि हामीलाई तिमीहरु एड्सको पोका हौ भन्दै घृणा गरिन्थ्यो,' दनुवारले भनिन्, 'हामी पीडित भए पनि अन्य पीडितलाइई सघाउन पर्छ भन्ने प्रेरणाले काम सुरु गरेका थियौं आज सफलता मिल्यो ।'
सन् १९९६ मा भारतका वेश्यालयहरुमा प्रहरीले छापा मारी उद्धार गरेका करीब डेढ सय नेपाली महिलाहरुलाई स्वदेश फर्काउन खोज्दा एचआईभी एड्स रोग भित्र्याउन खोजिएको भन्दै आलोचना भएको थियो । 'त्यो पीडा हामीलाइ थाहा थियो,' दनुवारले भनिन्,'त्यसैले गर्नुपर्ने भावनाले काम सुरु गरेका थियौं ।' 
बेचिएका महिलाहरुको उद्धार तथा पुनर्मिलन, स्वेदेश फिर्ती र पुर्नस्थापनाको लागि समूहले काम गर्दै आएको छ । 
यसअघि नेपालबाट व्यक्ति तर्फबाट इतिहासकार महेशचन्द्र रेग्मी, पत्रकार भारतदत्त कोइराला, आँखा विशेषज्ञ सन्दुक रुइत तथा ग्रामीण क्षेत्रमा सूचना प्रविधिका अभियानकर्मी महावीर पुन सो एवार्डबाट सम्मानित भएका थिए।
शक्ति समूहमै महिला बेचबिखनविरुद्ध चलाएको कदमले थुप्रै पुरस्कार पाइसकेकी सिन्धुपाल्चोककी चरिमाया तामा‌गसमेत आवद्द छिन् । यसअघि चरिमायाले सन् २०११ मा तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट 'हिरो एक्टिङ टु एन्ड मोडर्न स्लेभरी अवार्ड' पाएकी थिइन् ।
शक्ति समूहका अतिरिक्त फिलिपिन्सका अर्नेस्टो डोमिन्गो, इन्डोनेसियाको भ्रष्टाचार निर्मूलीकरण आयोग, म्यान्मारकी लापाइ सेङ राव र अफगानिस्तानकी हबिबा सराबीलाई यस वर्षको रोमन म्यागसेसे प्रदान गर्ने निर्णय रोमन म्यागसेसे फाउन्डेसनले बुधबार गरेको हो । सन् १९५७ मा स्थापित म्यागसेसे अवार्डलाई एसियाको नोबेल पुरस्कार मानिन्छ .

No comments: