Headeradd

Tuesday, July 30, 2013

ऐतिहासिक सफलताको पर्खाइमा नेपाल


२० षर्ष अगाडिको ऐतिहासिक उपलब्धि दोहोर्‍याउने लक्षका साथ आज अपरान्ह नेपाली युवा टोली मैदानमा ओर्लिने भएको छ। सन् १९९३ मा बंगलादेशको राजधानी ढाकामा भएको छैठौ साफयता नेपालले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन ।त्यसैले गृह मैदान मै भइरहेको दोस्रो साफ यु १६ च्याम्पियनसिपको फाइनल पुगेको नेपाली युवा टोलीसामु मंगलबार उपाधि जित्ने बेग्लै दबाब हुनेछ ।ढाका साफमा नेपाली राष्ट्रिय सिनियर टोलीले भारतलाई हराउँदै उपाधि जितेको थियो । संयोग नै मान्नु पर्छ यो पटक पनि नेपालले चिरप्रतिद्वन्द्वी भारत उमेर समूहको प्रतियोगितामा पनि नेपालको तगारो बनेर उभिएको छ ।फुटबलमा नेपालको कुनै पनि उमेर समूहमा पाएको यो सबैभन्दा ठूलो उपलब्धि हो । यसअघि सन् १९९९ मा नेपालमै भएको आठौ साफ गेममा नेपाल फाइलनमा पुगेको थियो । दोस्रो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको नेपालले घरेलु दर्शकलाई निरास पार्दै बंगलादेशलाई उपाधि १-० गोलमा सुम्पिएको थियो ।
लामो समयसम्म साफ च्याम्पियनसिपलगायतका प्रतियोगिताहरुमा समूह चरणमै सीमित नेपाली राष्ट्रिय टिमले २०११ मा भारतमा भएको प्रतियोगितामा सेमिफाइनल यात्रा तय गरेको थियो यसका साथै विश्वकप छनोटको दोस्रो चरणसम्म पुग्न सफल भएको थियो । यो नै पछिल्लो समयमा नेपाली फुटबलको सर्वाधिक सफल उपलब्धि थियो ।
मंगलबार दशरथ रंगशालामा घरेलु दर्शकबीच भारततको तगारो पन्छाउन सके नेपालले एउटा सुनौलो इतिहास कोर्ने पक्का छ । नेपाली युवा टोलीलाई निखारीरहेका प्रशिक्षक तथा नेपालले पहिलो पटक सन् १९९३ मा ढाका साफ उपाधि हात पार्दाका प्रमुख खेलाडी बालगोपाल महर्जन उपाधि जितेर नेपाली सिनियर टोलीले पाउँदै आएको निराशा मेट्ने लक्ष्य लिएको बताएका छन् ।
समूह चरणमा नेपाली युवा टोलीले गरेको प्रदर्शनबाट उच्च मनोबल बढेको बताउदै महर्जनले भने, 'यस पटक ट्रफी स्वदेशमै राख्छौ,' फाइनल जित्न आतुर महर्जनले घरेलु दर्शकलाई निराशा नबनाउने भन्दै भने,' भारतिय टोली प्राविधिक रुपमा राम्रो भएपनि हाम्रो स्पिडलाई उनीहरुले रोक्न सक्दैनन् । हरेक खेलाडीको आत्मबल निक्कै उच्च छ र उपाधि जित्नेमा विश्वस्थ छौ ।'
नेपालमै भएको पहिलो यू–१६ साफ च्याम्पियनसिपको सेमिफाइलनमै भारतसँग हारेको बदला लिने अवसरमा रूपमा नेपाललले यस पटकको फाइनललाई लिएको छ ।
फाइनलसम्मको यात्रा तय गर्दा नेपालले २ गोल मात्र खाएको छ भने सबैभन्दा बढी सर्वाधिक १६ गोल गरिसकेको छ । समूह एको विजेता भएको नेपालले समूह चरणमा भुटानलाई ७-० र साविक विजेता पाकिस्तानलाई ३-० ले हराएको थियो भने अफगानिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो । यस्तै सेमीफाइनलमा बंगलादेशको चुनौतीलाई ५-१ले पन्छाएको नेपाल उच्च मनोबलका साथ फाइनलमा प्रवेश गरेको छ ।
यस्तै गत वर्षको उपविजेता तथा समूह बीको विजेता भारतले समूह चरणमा श्रीलंकालाई ४-१ तथा बंगलादेशलाई २-०ले हराएको थियो। भारतले सेमीफाइलनमा अफगानिस्तानको कडा चुनौतीलाई ट्राइब्रेकरमा पन्छाएको हो ।
सुरुआतदेखि नै निकै उत्साहाका साथ नेपाली टोलीले जित्ने विश्वास लिएका नेपालका प्रशिक्षक बालगोपाल महर्जन उपाधिका लागि नै खेल्ने बारम्बार दोहोर्याउँदै आएका छन् । उनले आज पनि खेलाडीले यसअघिको लयलाई नै निरन्तरता दिने बताए । उनले भने,  ‘हामी उपाधिका लागि सबैभन्दा बलियो दाबेदार हौ, उपाधि जित्नै मैदानमा उत्रिन्छौं र नेपाली टिमले पाउन नसकेको ऐतिहासिक सफलता दिलाउने छौं ।’
यता भारतका प्रशिक्षक गौतम घोषले अघिल्लो संस्करणमा पाकिस्तानसँग पराजित हुँदै उपाधि गुमाए पनि यस पटक नेपाललाई हराउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।
उनले भने, ‘नेपाली खेलाडीलाई घरेलु मैदान र घरेलु दर्शकको साथ छ । यद्यपि, हजारौं दर्शकका माझ हामी पनि राम्रो प्रदर्शन गर्छौं ।’
नेपालसँगको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरेको प्रशिक्षक घोसले भने, 'नेपालको टिम धेरै राम्रो र सन्तुलित छ । पछिल्ला चार खेलमा उसले एक रूपले राम्रो खेलिरहेको छ । पहिलो संस्करणको फाइनलमा हारेका थियौं । तर, प्रत्येक दिन आइतबार हुँदैन । र, कुनै पनि टिम यहाँ हार्न आएका होइनन् ।'
‘नेपालको खेल राम्रो छ। स्ट्राइकर बिमल घर्ती मगरको प्रदर्शन साँच्चीकै लोभलाग्दो छ। तर, फाइनलमा हामी मिहिनेत गरेर खेल्छौं। गोल खाए पनि हामी निराश हुनेछैनौं, किनकि भविष्यमा भारतको राम्रो टोली बनाउने अभियानमा छौ।’

यो प्रतियोगितालाई अनुभव बटुल्ने थलोको रूपमा लिएकाले फाइनलमा जस्तो नतिजा आए पनि स्विकार्य हुने घोषले बताए।
‘युरोपेली राष्ट्र पनि एकैपटक फुटबलमा राम्रा भएका होइनन्। उनीहरूले लामो समय मिहिनेत गरेका छन्। दक्षिण एसियाका धेरै राष्ट्रको स्वभाव र खेल्ने शैली मिल्छ, राम्रो प्रतिस्पर्धाले भविष्यमा दक्षिण एसियाको टोली बलियो बन्नेछ,’ उनले भने।
ढाका साफबाहेक नेपालका लागि हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा तगारो बन्दै आएको भारतलाई पन्छाउन सके नेपाली फुटबलको हौसला मात्र होइन २० वर्ष पछिको ऐतिहासिक सफलता पाउन आइतबार कुर्नु पर्दैन ।
आगामी सेप्टेम्बरको अन्तिमा साता एएफसी यू १६ च्याम्पियनसिपको छनौट खेल्दैछन् । त्यसको लागि दुबै टोलीलाई आजको फाइनल एउटा सुनौलो अवसर पनि हुनेछ ।  फाइनल अघि आजै ललितपुरको लगनखेलस्थित आर्मी मैदानमा तेस्रो स्थानका लागि बंगलादेश र अफगानिस्ता भिड्ने भएका छन् ।

No comments: