काठमाडौं उपत्यका विभिन्न सांस्कृतिक नाचगानहरूले भरिएको नगर हो । यी परम्परागत नाचहरू यो नगरको अभौतिक सम्पदा हुन् । परम्परागत नाचका रूपमा अस्तित्ववान् यी अभौतिक सम्पदामध्ये एक हो- काठमाडौंको किलागल टोलबाट प्रदर्शन गरिने दीप्याखं अर्थात् देवी नाच । हरेक वर्ष इन्द्रजात्राका बेला काठमाडौंमा विभिन्न नाच निकालिने गरिन्छ- जस्तो लाखे, पुलुकिसि, महाकाली, सवभक्कु आदि । यी नाचमध्ये पनि इन्द्रजात्राको पहिलो दिने नै निकालिने नाच 'देवी नाच' हो । इन्द्रजात्राको पहिलो दिन काठमाडौं हनुमानढोकामा लिंगो उठाउने गरिन्छ । उक्त लिंगो उठाउने बेला त्यही हनुमानढोका मै यो नाच प्रदर्शन गर्ने चलन छ ।
यो नाचमा जम्मा सातजना पात्र छन् । तीमध्ये देवी कुमारी प्रमुख हुन् भने भैरव, चण्डी, दैत्य, कवं (अस्थिपंजर), बेताः र ख्याक अरु पात्र हुन् । नाचमा सातवटै वाद्यवादन बजाइन्छ भने सातवटै चर्या गीत गाइन्छ । प्रत्येक पात्रका लागि अलगअलग वाद्यवादन र अलग अलग धुनका गीत व्यवस्था गरिएको छ । नाच, गीत र बाजा सिकाउन एक मूल गुरुअन्तर्गत अरू सातजना नै गुरुहरू थापना गर्नुपर्छ । यसरी यो नाच निकाल्दा यसका देवीदेवता पात्रहरू, गायक, वाद्यवादक र अरू सहयोगी आदि सबै मिलाउँदा ६४ जनाको टिम तयार हुन्छ । इन्द्रजात्रा सुरु हुनुभन्दा करिब डेढ महिना अघिदेखि यो 'टिम' को रिहर्सल सुरु हुन्छ र बल्ल नाच तयार हुन्छ ।
नेपालीमा नाच भन्नाले नृत्य बुझिन्छ तर नेपाल भाषामा नाच अर्थात् 'प्याखं' शब्दले नृत्य र नाटक दुवैलाई बुझाउँछ । देवी नाच नृत्य पनि हो, नाटक पनि हो । अर्थात् यो संगीतबद्ध गीतको धुनमा नाचेर प्रस्तुत गरिने नाटक हो । यसलाई अंग्रेजीमा 'ब्याले' भनिन्छ । देवी नाचलाई एउटा पूर्णांकी नाटक भन्दा फरक नपर्ला । यो नाटकमा एउटा कथा पनि कथिएको छ । एउटा दैत्य नगरमा आक्रमण गर्न आइपुग्छन् । उनलाई भगाउन भैरव अघि सर्छन् । तर, दैत्यले भैरवलाई परास्त गर्छन् । त्यसपछि कुमारी आइपुग्छन् । कुमारी र दैत्यबीच युद्ध चल्छ । कुमारीले दैत्यलाई ढालेर राज्य बचाउँछन् ।
तत्कालीन मातृप्रधान समाजको नारी शक्ति प्रदर्शन गर्न देवी कुमारीलाई अघि सारिएको यो नाच पूरै देखाउने हो भने सात घन्टा लाग्ने रहेछ । तर अहिले समयाभावले गर्दा प्रमुख अंशमात्रै देखाउने गरिएको छ ।
यो नाच कहिलेदेखि सुरु भयो भन्ने कुनै स्पष्ट इतिहास छैन । तर, यो इन्द्रजात्रासँग सम्बन्धित जात्रा भएकाले यसको पनि सयौं वर्ष पुरानो नालीबेली हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । लिच्छवी राजा गुणकामदेवले कान्तिपुर नगर निर्माण गरेपछि नगरको रक्षा गर्न श्री कुमारीलाई नगर परिक्रमा गराउने थिति बसालेको विश्वास गरिन्छ । आफूले निर्माण गरेको नगरलाई कुनै बाह्य तत्त्वले आक्रमण गरे श्री कुमारीले रक्षा गर्ने भाव अभिव्यक्त गर्न यो 'ब्याले' सुरु गरिएको देखिन्छ ।
यसको अर्को महत्त्वपूर्ण पक्ष के हो भने काठमाडौंको भित्री सहरको चार कुनामा यही नाचमात्र देखाउन चारवटा ठूलठूला सार्वजनिक डबली निर्माण गरिएका छन् । ती हुन्- जैशीदेवल (न्हूघः डबली), नरदेवी (किलाघः डबली), बांगेमुढा–थाय्मरु (नःघः डबली) र इन्द्रचोक (वंघः डबली) । यहाँ चारवटा 'घः' को प्रसंग उल्लेख भएको छ । 'घः' को अर्थ घडा वा घैंटो हो । लिच्छवीकालमा काठमाडौं राज्यको साँधसीमा छुट्याउन नगरका विभिन्न कुनामा ढुंगाका घडाहरू स्थापना गरिएको थियो ।
तिनै घः (घडा) का नामबाट अहिले उक्त टोलकै नामकरण हुन गएको छ । जस्तो किलाघः, वंघः, नःघः, न्हूघः आदि । नगरको सिमाना छुट्याउन स्थापना गरिएका यिनै घःहरू सँगै बनाइएको डबलीहरूमै यो नाच देखाइने भएकाले यसले राज्यको सार्वभौमसत्ता र अखण्डता जोगाउने सन्देश पनि बोकेको देखिन्छ । अतः देवी नाच सांस्कृतिक भए पनि यसको सन्देश भने राजनीतिक हो ।
यो देवी नाचसँग अर्को एउटा राजनीतिक प्रसंग पनि जोडिएको छ । विक्रम संवत् १८२५ सालमा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा काठमाडौंका राजा जयप्रकाश मल्ल यही देवी नाच हेरिरहेका थिए ।
इन्द्रजात्राका दिन उक्त आक्रमण भएको थियो । काठमाडौंका सारा जनता इन्द्रजात्रामा मस्त थिए । राजा जयप्रकाश मल्ल कुमारीको रथमा आफैं सवार थिए । वसन्तपुरबाट तानिएको श्रीकुमारीको रथ काठमाडौंको तल्लो नगर न्हूघल (जैसीदेवल) पुगिसकेको थियो । न्हूघलस्थित सार्वजनिक डबलीमा उक्त नाच चलिरहेको थियो । नाच हेरिरहेकै बेला जयप्रकाश मल्ललाई खबर आयो कि वसन्तपुर दरबार गोर्खाली राजाको कब्जामा गइसकेको छ । राजा जयप्रकाश मल्ल हेर्दाहेर्दैको नाच छोडेर उतैबाट पाटनतिर भागे । यो उनले हेरेको इन्द्रजात्राको अन्तिम नाच थियो ।
हरेक इन्द्रजात्राका बेला कुमारीको रथलाई काठमाडौंको यही चारवटा डबली भएको ठाउँबाटै तानेर नगर परिक्रमा गराइन्छ । पहिलो दिन कुमारीको रथ काठमाडौंको तल्लो भाग जैसीदेवलतिर तानिन्छ । त्यो दिन जैसीदेवल कै न्हूघः डबलीमा देवी नाच देखाइन्छ । दोस्रो दिन काठमाडौंको माथिल्लो भाग अर्थात् बांगेमुढा, असन र इन्द्रचोकतिर तानिन्छ । त्यो दिन बांगेमुढा र इन्द्रचोकको डबलीमा नाच देखाइन्छ । तेस्रो दिन माथिल्लो भागकै किलाघलतिर रथ तानिन्छ भने त्यो दिन किलाघः डबली मै नाच देखाइन्छ । कुमारीको रथ तानेर ल्याउँदा डबलीका अगाडि रथलाई एक छिन रोकेर जीवित देवी कुमारीलाई उक्त नाच नजर गराउने चलन छ ।
विक्रम संवत् १८२५ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा काठमाडौंका राजा जयप्रकाश मल्ल यही देवी नाच हेरिरहेका थिए । इन्द्रजात्राका दिन उक्त आक्रमण भएको थियो । काठमाडौंका सारा जनता इन्द्रजात्रामा
मस्त थिए । राजा जयप्रकाश मल्ल कुमारीको रथमा आफैं सवार थिए ।
यो नाचको अर्को एउटा विशेषता के हो भने नाच निकाल्दा देवीहरूको मुकुटमा विभिन्न किसिमका वासनादार फूलहरू पनि सिउरिएका हुन्छन् । यस्तो फूल अरू नाचमा प्रयोग भएको पाइँदैन । यस्ता फूलहरू अहिले काठमाडौंमा पाउन पनि गाह्रो भइसकेको छ ।यो नाचमा नृत्य गर्न आउने भैरवले आफ्नो कम्मरमा बाघको छाला बेरेका हुन्छन् । हरेक १० वर्षमा यो छाला फेरेर नयाँ लगाउने चलन छ ।
संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार काठमाडौंमा प्रचलित अरू नाचहरूमा पनि कुमारी र दैत्यको द्वन्द्व देखाउने गरिए पनि यो नाचमा देखाउने द्वन्द्वको कथा भने फरक छ । काठमाडौं उपत्यकाको सबैभन्दा पूरानो हरिसिद्धि नाच (जल प्याखं) बारे धेरै ऐतिहासिक तथ्यहरू भेटिए पनि देवी नाचबारे भने त्यति ऐतिहासिक सामग्रीहरू नभेटिएको उहाँ बताउनुहुन्छ ।
काठमाडौं उपत्यकाको यति धेरै महत्त्वपूर्ण नाच भए पनि अहिले भने आर्थिक अभावका कारण यो नाच पनि रोकिने हो कि भन्ने खतरा उत्पन्न भएको छ । सदियौंदेखि दैत्य ढालेर देखाइँदै आइरहेको यो ऐतिहासिक नाच अहिले भने आफैं ढल्ने अवस्थामा पुगेको छ । नाच व्यवस्थापनको जिम्मा पाएका मूल गुरु इन्द्र महर्जन नाचको भविष्यप्रति चिन्तित छन् ।
हरेक वर्ष ६४ जनाको टोलीलाई डेढ महिनासम्म रिहर्सलका लागि चिया ख्वाउन पनि आफूसँग बजेट नभएको उहाँ बताउनुहुन्छ । देवी नाच हरेक वर्ष निकालिने भए पनि प्रत्येक १० वर्षमा यसको सम्पूर्ण भेषभूषा नयाँ फेर्नुपर्छ । परार यसको १० वर्षे उत्सव थियो । नयाँ भेषभूषाका लागि नाच व्यवस्थापकहरूले अर्थ मन्त्रालय गुहार्दा त्यहाँको बजेट तथा कार्यक्रम महाशाखाले १० वर्षअघि जति रकम दिएको हो अहिले पनि त्यति नै दिनू भनी तोक लगाइदिए । सरकारको यो ताल देखेर गुरु हैरान छन् ।
अर्को कुरा, यो नाच किलाघल (भेंडासिंग) को बिज्यापू ननी भन्ने एउटा चोकबाट निकालिने गरिन्छ । चोकमा एउटा घर छ जहाँबाट यो नाच बाहिर निस्कन्छ । त्यो घर नाचको आफ्नै होइन । घरधनीले चलाउन दिएकामात्र रहेछन् । अहिले घरधनी त्यो घर बेचेर अन्तै सर्ने तयारीमा छन् । घर किन्ने नयाँ धनीले त्यो सुविधा देला नदेला भन्न सकिन्न । नाच व्यवस्थापकहरू अब त्यो घर आफैंले किन्नु पर्यो वा सरकारले किनेर आफूलाई हस्तान्तरण गरिदिनु पर्यो भनी गुहारिरहेका छन् । तर सरकारले त्यो अहिलेसम्म सुनेको छैन ।
नाचको रिहर्सल गर्न आफ्नै घर नहुनु, नाचमा देवीदेवता बन्ने र बाजा बजाउने पात्रहरू खोज्न गाह्रो हुँदै जानु, आयआर्जनका अरू काम छोडेर यसमा व्यस्त हुन पर्नु आदि समस्याले गर्दा हरेक वर्ष नाच निकाल्न अप्ठेरो हुँदै आउन थालेको छ ।
यो नाच देखाउन बनाइएका डबलीहरूका पनि आफ्नै विशेषता छन् । काठमाडौंको गुजुमुच्च बस्तीको बीचबीचमा ठूलो ठाउँ ओगटेर बनाइएका यी डबलीहरू अहिले खुला क्षेत्र (ओपन स्पेस) संरक्षणका हिसाबले पनि महत्त्वपूर्ण छन् ।
यो नाच देखाउन बनाइएका डबलीहरूका पनि आफ्नै विशेषता छन् । काठमाडौंको गुजुमुच्च बस्तीको बीचबीचमा ठूलो ठाउँ ओगटेर बनाइएका यी डबलीहरू अहिले खुला क्षेत्र (ओपन स्पेस) संरक्षणका हिसाबले पनि महत्त्वपूर्ण छन् ।
काठमाडौंका धेरै सार्वजनिक डबली अतिक्रमणको सिकार भइसकेका छन् । कुनै डबली पसल कवलमा बदलिइसकेको छ भने कुनैमा घरै ठडिसकेको छ । यसको कारण हो, ती डबलीहरूमा कुनै पनि सांस्कृतिक नाच देखाउनु पर्दैन । वा देखाउने गरिन्थ्यो भने पनि त्यो अहिले लोप भइसकेको हुनुपर्छ । देवी नाच बर्सेनि देखाउने गरिएकाले काठमाडौंको मध्य भागमा अवस्थित चार डबलीमध्ये अहिले दुई सुरक्षित छन् ।
इन्द्रचोकको डबली नब्बे सालको महाभूकम्पमा बिलाएको थियो भने भेंडासिंहको डबलीमा अहिले घर बनाएर अंशबन्डासमेत गरिसकिएको छ । बाँकी दुई डबली सुरक्षित गर्ने हो भने यो नाच सुरक्षित रहनु पर्यो । नाच सुरक्षित भए पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिएको 'ओपन स्पेस' पनि सुरक्षित रहन पुग्छ । देवी नाच बन्द भए भने यही नाच देखाउने प्रयोजनका लागि काठमाडौंका विभिन्न ठाउँमा बनाइएका सार्वजनिक डबलीहरू पनि विस्तारै अतिक्रमणको सिकार हुँदै जानेछन् ।
अहिल्यै पनि डबलीको छेउछेउमा रहेका सत्तलहरू, जहाँ नाच देखाइँदा वाद्यवादकहरू बस्ने गर्छन्, निजी पसल कवलहरूमा परिवर्तन भइसकेको छ । एउटा नाच लोप हुँदा योसँग जोडिएका सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, राजनीतिक, साहित्यिक, वातावरणीय महत्त्वहरू पनि लोप भएर जाने छन् ।
यति पुरानो र महत्त्वपूर्ण नाच भएर पनि यसको सञ्चालन गर्न न यसको आफ्नो कुनै गुठी छ, न त आयस्रोत नै । स्थानीयस्तरबाट उठ्ने सीमित आय नै यसको आधार बन्दै आएको छ जो सधैं टिकाउ हुन्छ भन्न सकिन्न ।
No comments:
Post a Comment