Mandirma Yaun Samagam.
भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’– अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो कि’ भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा अचेल हरेक दिन गुञ्जने गर्छ नेवारी भाषाको यो गीत ।
फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु हुने फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै भीमसेन गुठीका गाईजुले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाइ गर्दछन् ।
होलीलाई यौनपर्वको रुपमा दाज्दै आएको गुठीले हरेक वर्ष झै यस वर्ष पनि फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुन्ड्याएर यौन समागमको रुपमा प्रदर्शनमा राखेको छ । यसलाई पूजा एवम् दर्शन गर्न स्थानीयको सधैँ बिहान घुइँचो लाग्ने गर्दछ भने यो हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकको आगमन उत्तिकै छ । शनिबार र मङ्गलबार यसको पूजा एवम् दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने परम्पराअनुसार आज बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो छ ।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुन्ड्याइन्छ । भक्तपुर परम्पराअनुसार यसलाई चिर स्वायगू भनिने बताउनुहुन्छ । चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु सुरु हुने उनले बताए ।
होली सुरु हुनुअघि फागुन शुक्ल अष्टमीका दिन बिहान भीमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, बम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलैपिच्छे लिङ्ग दर्शनका लागि लगिएको थियो । घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । यसो गरेमा व्यापार फस्टाउने विश्वास रही आएको स्थानीय व्यापारी माइलाराम श्रेष्ठ बताउँछन् ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुन्ड्याएको छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिको रुपमा नभइ सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपदीको यौन समागमको रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ ।
साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ । चिर स्वायगू अर्थात् लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् ।
मन्दिरमा झुन्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न र दर्शन गर्न भक्तपुरका मात्र नभइ उपत्यका कै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति र महिला एवम् पुरुष आउने गरेको भीमसेन गुठीका कृष्णबहादुर गाईजुले बताउनुभयो । फागुपूर्णिमाको दिन साँझ मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि विधिवत् रुपमा होली समापन हुने उनले बताउए ।
मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा चल्ने गर्दछ । भीमसेनको मन्दिर जगतप्रकाश मल्लको समयमा बनेकाले होलीको यो परम्परा पनि यही बेलादेखि सुरुवात छ .
No comments:
Post a Comment