Headeradd

Monday, November 4, 2013

नेपाल सम्वत् ११३४ आजदेखि सुरु / आज गोबर्द्धन तथा म्हः पूजा


विभूति शङ्खधर साख्वाको सम्झना
१८ कात्तिक, काठमाडौं । नव वर्ष नेपाल सम्वत् ११३४ आजदेखि शुभारम्भ भएको छ ।
नव वर्षको पहिलो दिन मुलुकभर आज विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ ।
आजका दिन ल्याय्म्ह पुचः थिमिले शङ्खधर साख्वाःचोक थिमिमा विभिन्न कार्यक्रमको आयोजना गरी नव वर्ष मनाउँदै छ ।
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आˆनो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
नेपाल सम्वत् कुनै जाति विशेषको नभई समस्त नेपालीको मौलिक सम्वत् हो ।
नेपालमा विसं २००७ मा प्रजातन्त्रको उदय भएदेखि नै नेपाल सम्वत्लाई पुनःस्थापित गराउन विभिन्न प्रयास हुँदै आएको थियो ।

आज गोबर्द्धन तथा म्हः पूजा

१८ कात्तिक, काठमाण्डौं । नेपालीहरुको महान चाड तिहार अर्थात यमपञ्चकको चौथो दिन आज नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।
आज नेपालीहरूले आ-आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।
आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङ्गलामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरूले गोबरलाई सम्मान गर्ने गर्दछन् । गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको पण्डित गोविन्द वाग्लेले बताउनुभयो ।
गोबरलाई परम्परादेखि नै इन्धनको रूपमा पनि प्रयोग गरिँदै आएको छ । गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।
गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधि गोवर्द्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।
त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ 

तिहारको चौथो दिन गोवर्द्धन, गाई गोरु र म्हपूजा

१८– तिहारको चौथो दिन सोमबार गाई, गोरु र गोवर्द्धन पूजा गरिँदैछ । कतिपय ठाउँमा आइतबार गाई पूजा गरिएपनि तिथिका हिसाबले सोमबार गाईतिहार परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
हिन्दूहरु गाईलाई लक्ष्मीको प्रतीक र गौमाता भनी आमाको रुपमा मान्दछन् । गाई तिहारको दिन गाईलाई सिँगारपटार र पूजाआजा गरी माला लगाई मीठो खानेकुरा खुवाईन्छ । आजै रक्षाबन्धनका दिन बाँधेको डोरोलाई मृत्युपछिको कष्टमय सागरबाट मुक्ति पाउने धार्मिक विश्वासका साथ गाईको पुच्छरमा बाँधिन्छ । यस्तै सोमबार गोवद्र्धनपूजा पनि गरिँदैछ । कृषि कार्यसँग विशेष रुपमा सम्बन्ध गाँसिएका गाई, बाच्छा तथा गोरुलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ । धार्मिक मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोवद्र्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाएर गाई, गोरु, बाच्छा र पर्वतको पूजा गरिन्छ ।  
यस्तै नेवार समुदायमा सोमबार आफ्नो शरीरको पूजा गरी म्हपूजा मनाईंदैछ । यो पूजामा घरका मुलीदेखि केटाकेटीसम्मले मर्यादाक्रम अनुसार एकै ठाउँमा बसेर आफ्नो शरीरको पूजा गर्ने चलन छ । म्ह पूजाबाट हरेक व्यक्तिले आफ्नो मनोभावनाबाट आफूलाई चिन्ने र संसारमा आफ्नो महत्वलाई बुझेर मानवकल्याणतर्फ लाग्न अभिप्रेरित गर्ने विश्वास छ । यस पूजामा विशेष प्रकारको धागो, फूल, माला, धूप, फलफूल, मिष्ठान्न लगायत सामग्री संग्रह गरिन्छ । पूजा सकिएपछि हाँस वा कुखुराको फुल सहितको सगुन प्रसादका रुपमा वितरण गर्ने चलन छ ।
- S

No comments: