नौ बाजा पाईने फरक सांगीतिक धूनबाटै कून चाडपर्व र मौसम हो भन्ने छुट्याउन सकिने भएपनि जात्रा तथा पर्व मै आधुनिक बाजाहरु भित्रिएपछि साँस्कृतिक पहिचान र ईतिहास बोकेको नौ बाजा लोपोन्मुख अबस्थामा पुगेको हो । एकातिर नौ बाजा बजाउने जनशक्तिको अभाव र अर्कोतर्फ आर्थिक समस्याले पिरोलिदै आएको अबस्थामा आधुनिक बाजाले ठाउँ ओगट्दै आएपछि नौ बाजा जोखिममा परेको बाजा खलका पदाधिकारीहरु बताउँछन् ।प्रत्येक चाडपर्व, डाफा भजन, पूर्णीमा, एकादशी एवं जात्रा, पर्व र मेलामा बजाइने नौ बाजा नेवारी समुदायमा महत्वपूर्ण मानिने विशेष बाजा भएको संस्कृतकर्मी शम्भु मुनकर्मीले जानकारी दिनुभयो ।नौ बाजा अन्तर्गत नगरा, धिमा, लालखिङ, ढाँचा, पश्चिमा, ढोलक, कोत्ता र करखिङ पर्दछन् । एक पटक चाडमा यो बाजा बजाउन ३ हजारदेखि ६० हजार रुपैयाँसम्मको लागत पर्ने नौ बाजा खलले जानकारी दिएको छ । खलका अनुसार नेवारी समुदायका चाडपर्वमा विशेष भोजको आयोजनामा समेत यो बाजा बजाउने परम्परा रहेको छ । आम्दानीको मूख्य स्रोत मानिने गुठी जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्नसमेत समस्या उत्पन्न भएकाले नौ बाजा अन्तर्गतका महत्वपूर्ण बाजाहरु जीर्ण अवस्थमा पुगेको बाजा खलका रघुनाथ कायस्थको गुनासो छ ।
भक्तपुर नगर क्षेत्रभित्रका ६ ठाउँमा यो बाजा बजाउने गरिएको भए पनि अहिले भने याछे, दत्तात्रय र टौमढीमा मात्रै यो बजाउने गरिएको खलले जनाएको छ । यो बाजा धार्मिक आस्था र परम्परामा बाँधिएर बजाउनु पर्ने नियम रहेको छ । यसलाई चाँडपर्व अनुसार कुसुले (कपाली) जातिले बजाउने विशेष बाजा भएकाले यसलाई कुसुले बाजा पनि भन्ने गरिन्छ । बाजा बजाउने जनशक्ति नहुँदा एकैजनाले सबै ठाउँ भ्याउनुपर्ने र यसमा युवा पुस्ताले चासो नदिएपछि बाजा बजाउनेमा बुढापाकामा मात्र समिति भएका छन् । युवा पुस्ताले यो बाजा सिक्न छाडेपछि बूढापाकाहरु संरक्षण गर्न निकै गाह्रो भएको बताउँछन् । हाल बाजा बजाउन नौजना मान्छेको उपस्थिति हुनसमेत गाह्रो हुने गरेको छ । जति जना मान्छे जम्मा भए त्यतिले मात्र बाजा बजाउने गरिएको खलका कायस्थले जनाए । परम्परागत रुपमा बाजा बजाउन आर्थिक अभाव हुँदा नौ बाजा जोगाउन निकै कठिनाइ भएको गुनासो उनीहरुको रहेको छ ।संस्कृतकर्मी मुनंकर्मीका अनुसार नगरका धेरै ठाउँमा बजाइने नौ बाजाका गुरुको अभाव र नयाँ पुस्तामा बाजा सिक्ने चाहानाको कमीले गर्दा बाजा जोगाउन गाह्रो भईरहेको बताउँनुभयो । विशेष समयमा बजाइने बाजाको छुट्टै महत्व रहने गरेको बताउँदै उहाँले यो बाजा लोप हुने अवस्थामा पुगिसकेकाले नयाँ पस्तालाई यो बाजा सिकाउन आवश्यक भएको औल्याउँनुभयो ।
No comments:
Post a Comment