राजधानीमा जारी दोस्रो साफ यू-१६ च्याम्पियनसिपमा नेपालले फेरि पनि उपविजेतामै चित्त बुझाएको छ। भारी वर्षाबीच दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले उपाधि सुम्पियो।
उमेर समूहको प्रतियोगितामा भारतलाई पहिलो उपाधि दिलाउने क्रममा जेरी लालरेन्जुलाले खेलको १८ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित हुन पुग्यो।
खेलमा पहिलो हाफमा सुस्त प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा केही सुधार गरे पनि गोल गर्न सकेन । नेपालले पाएका आधा दर्जन गोल अवसर सदुपयोग गर्न नसक्दा गृह मैदानमा भएको खेलमा हार बेहोर्न बाध्य भयो।
बीस वर्षपछि उपाधि जितेर नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा आए पनि अन्तत : १५ हजार घरेलु दर्शक निराश भए। नेपाल पराजित भएपछि दर्शकले खेल मैदानमै बोतल र ढुंगा प्रहार गर्दा केही समय रंगशाला तनावपूर्ण भएको थियो । प्रहरीले प्रहार गरेको लाठीबाट दर्जनौं दर्शक घाइते भएका थिए।
समूह चरण र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्ततः फाइनलमा त्यही लयलाई निरन्तरता दिन सकेन । दुई वर्षअघि काठमाडौंमा भएको खेलमा पहिलो संस्करणको फाइनलमा पाकिस्तानसँग हारेको भारतले त्यसको बदला योपटक नेपालसँग लियो।
फाइनलसम्म यात्रा तय गर्दा नेपालले ३ गोल मात्र खाएको छ भने सबैभन्दा बढी १६ गोल गरेको थियो। समूह एको विजेता नेपालले समूह चरणमा भुटानलाई ७-० र साविक विजेता पाकिस्तानलाई ३-० ले हराएको थियो। अफगानिस्तानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै सेमिफाइनलमा बंगलादेशको चुनौतीलाई ५-१ ले पन्छाएको थियो।
यस्तै गत वर्षको उपविजेता तथा समूह बीको विजेता भारतले समूह चरणमा श्रीलंकालाई ४-१ र बंगलादेशलाई २-०ले हराएको थियो। सेमिफाइलनमा अफगानिस्तानको कडा चुनौतीलाई भारतले ट्राइब्रेकरमा पन्छाएको थियो।
बीस वर्ष पुरानो ऐतिहासिक उपलब्धि दोहोर्याउन नसकेकोमा दु:ख लागेको बताउँदै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्न नसके पनि राम्रो खेलेको बताए। सन् १९९३ मा बंगलादेशको राजधानी ढाकामा भएको छैठौं साफयता नेपालले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा उपाधि जित्न सकेको छैन।
भारतीय प्रशिक्षक घोषले गत वर्षको नतिजा उल्ट्याएर जित्नकै लागि नेपाल आएको बताए।







No comments:
Post a Comment