
साढे दुई महिनाको अभ्यासमा गरिएको कडा मेहनत, फरवार्डले तोडेको गोलको खडेरी, प्रशिक्ष्ाकको नयाँ रणननीति, घरेलु मैदान र दर्शकको साथ सबैले सफलता दिलाएको उनको ठहर छ । 'भारतविरुद्धको जितले पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा हामीलाई आत्मविश्वास बढाएको छ,' कप्तान थापाले भने । अनिलले ६९औं मिनेटमा गोल गरेपछि नेपालले १-० को अग्रता लिएको थियो । भारतको सिनियर टिमविरुद्ध ८ वर्षपछि नेपालले गरेको गोल यही हो । बायाँ तिघ्राको मांसपेसीमा चोट लागेपछि पाकिस्तानविरुद्ध मंगलबारको खेल बीचमै छाडेका अनिलले भने, 'बिहीबार पनि खेल्न सक्छुजस्तो लागेको थिएन । पेन्किलर लिएर वार्म अप गर्दासम्म दुखाई सहन गाह्रै परेको थियो । जब दर्शकले भरिएको रंगशालामा भारतविरुद्ध खेल्न ओर्लिएँ, तब मलाई चोट लागेको छ भन्ने नै बिर्सिएँ । गोल गरेर कसरी नेपाललाई जिताउने भन्नेमै ध्यान केन्दि्रत भयो' नवौं अन्तर्राष्ट्रिय गोल गरेका उनले थपे, 'भारतविरुद्ध महत्त्वपूर्ण गोल गरे । त्योभन्दा महत्त्वपूर्ण हाम्रो टिमले भारतलाई हरायो । निकै खुसी लागेको छ ।'
दुई दशकअघि ढाकामा स्वर्ण जित्दाका नेपाली कप्तान राजुकाजी शाक्य बिहीबारको जित प्यारापिटमा बसेर हेरिरहेका थिए । उनले भने, 'भारतीय फुटबलमा खेलाडीलाई सुविधा र अवसर प्रशस्तै छ । तर, नेपाली खेलाडी प्राविधिक रूपमै भारतीयभन्दा उत्कृष्ट छन् । विगतमा अनुकूल नतिजा मात्र आएको थिएन । हामी उत्कृष्ट छौं भन्ने खेलाडीले यसपल्ट प्रमाणित गरिदिए ।'
नेपालका प्रशिक्ष्ाक ज्याक स्टेफनोस्कीले पनि भारतलाई हराएर नेपाली खेलाडीले उत्कृष्ट भएको प्रमाणित गरेको बताए । 'हामीले निरन्तर सुधार गरिरहेका छौं । त्यसैले उत्कृष्ट प्रदर्शन गर्दै पाँचपल्टको विजेता भारतलाई हरायौं । यसले हाम्रो उपाधि जित्ने सम्भावना बलियो पारेको छ ।'
जुमनुले ८०औं मिनेटमा गोल गरेपछि नेपाल २-० ले अगाडि बढ्यो । भारतले अन्त्यतिर गोल फर्कायो । यो जितसँगै नेपाल ४ देश सहभागी समूहमा पहिलोपल्ट विजेता हँुदै आठौं साफको अन्तिम चारमा प्रवेश गर्यो । नेपालले २ जित र १ बराबरी खेल्दै समूह 'ए'मा सर्वाधिक ७ अंक बटुल्यो । हल्चोकमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई २-१ ले हरायो । त्यसैले हारे पनि भारत 'हेड टु हेड' मा अगाडि रहँदै सेमिफाइनल प्रवेश गर्यो । नेपालले फाइनल प्रवेशको निम्ति माल्दिभ्स वा अफगानिस्तानविरुद्ध आइतबार खेल्नेछ ।
नेपाल भारत
१४ खेल १४
२ जित १०
२ बराबर २
१० हार २
९ गोल २४
पेनाल्टी सुटआउट पुगेको खेललाई बराबरी मानिन्छ ।
च्यालेन्ज कप २००६ मा नेपालसँग हारेको भारतीय टिम २० वर्षमुनिको थियो ।
No comments:
Post a Comment